क्याम्पसमा गुणात्मक तथ्याङ्क व्यवस्थापन तालिम सम्पन्न

विश्वविद्यालय अनुदान आयोग नेपालीको वित्तीय सहयोग र क्याम्पसको आयोजनामा सुकुना क्याम्पसमा गुणत्मक तथ्याङ्क व्यवस्थापन (Qualitative Data Management) तालिम/सेमिनार/कार्यशाला सम्पन्न भएको छ ।
मिति २०८१ जेठ १० गते देखि जेठ १२ गते सम्म तीन दिने कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विभिन्न ६ वटा क्याम्पसका ९ जना शिक्षक प्रतिनिधिहरू र सुकुना क्याम्पसका ४७ जना गरी जम्मा ५६ जना शिक्षकहरू सहभागी रहेका थिए । काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन, हात्तीवन, ललितपुरका सहप्राध्यापक डा. सुरेश गौतम र सुकुना क्याम्पसका सहप्राध्यापक डा. मोहनकुमार तुम्वाहाङले विषयविज्ञका रुपमा तीन दिन सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा सहजकर्ता द्वयले परिमाणात्म अनुसन्धान र गुणात्मक अनुसन्धान बिचको फरक र गुणात्मक अनुसन्धानको महत्त्वका सैद्धान्तिक विषयमा छलफल गराउनु भएको थियो । गुणात्मक अनुसन्धानमा तथ्याङ्क सङ्कन गर्ने विधि तथा तरिका, नैतिक पक्षहरू, तथ्याङ्कको व्यवस्थापन, तथ्याङ्कको छलफल एवम् व्याख्या र विश्लेषण गर्ने तरिकाका विषयमा दुई दिनसम्म विभिन्न आठ समूहमा कार्यशाला सञ्चालन गरी समूहहरूबाट प्रस्तुतीकरण गरएको थियो । शनिबार दिन कार्यक्रमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । समापन कार्यक्रममा सहभागीहरूले तालिम/कार्यशालामा सिकिएका विषयमा प्रतिविम्बन गरेका थिए । कार्यक्रमको सिङ्गो व्यवस्थापन क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइ (RMC-Sukuna) ले गरेको थियो ।

क्याम्पसमा सिमेस्टर प्रणालीको पुनर्ताजगी तालिम सम्पन्न

विश्वविद्यालय अनुदान आयोग नेपालीको वित्तीय सहयोग र क्याम्पसको आयोजनामा सिमेस्टर प्रणालीको पुनर्ताजगी तालिम सम्पन्न भएको छ । मिति २०८१ जेठ ४ गते देखि जेठ ६ गते सम्म तीन दिने पुनर्ताजगी कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विभिन्न ४ वटा क्याम्पसका शिक्षक प्रतिनिधिहरू र सुकुना क्याम्पसका ४२ जना शिक्षकहरू सहभागी थिए । शुक्रबार विहान क्याम्पसको सभाकक्षमा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको अध्यक्षतामा सञ्चालित उद्घटन गरिएको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले सम्बोधन गर्नु भएको थियो । त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौँका प्राध्यापक डाक्टर पेशल खनाल र क्याम्पसका उपप्राध्यापक डाक्टर दीपकप्रसाद न्यौपानेले विषयविज्ञका रुपमा तीन दिनसम्म सहभागीहरूलाई सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा सिमेस्टर प्रणालीका सैद्धान्तिक पक्षहरू, व्यवहारिक चुनौतिहरू, अपानाउनु पर्ने पद्धति, मूल्याङ्कनका पक्षहरु, अङ्कन पद्धति, सिर्जनात्मक कार्यहरू, विद्यार्थीका सिकाइका पक्षहरू, शिक्षण पद्धती, अभिलेखीकरण र शिक्षकको भूमिकाका विषयमा छलफल, अन्तर्क्रिया र कार्यशाला सञ्चालन गरिएको थियो । जेठ ६ गतेका दिन कार्यक्रमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । समापन कार्यक्रममा सहभागीहरूले तालिमको प्रतिविम्बन गरेका थिए ।

क्याम्सको आयोजनामा अन्तर्राष्ट्रिय वेबिनार सम्पन्न

सुकुना बहुमुखी क्याम्पसको आयोजना तथा आसाम डाउन टाउन युनिभर्सिटी, भारत र युनिभर्सिटी अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड साइन्सेज, बङ्गलादेशको सहकार्यमा मिति २०८१ जेठ ३ गते (१६ मे २०२४) मा त्रिपक्षीय वेबिनार सम्पन्न भएको छ । ‘कक्षाकोठामा कृत्रिम बुद्धिमत्ता कार्यान्वयनका लागि अवसर’ (Opportunities for implementation of AI in the Classroom) विषयमा सम्पन्न उक्त वेबिनारमा सुकुना बहुमुखी क्याम्पसको तर्फबाट वि.आई.सि.टी.ई. कार्यक्रमका फोकल पर्सन इन्जिनियर सन्तोष दाहाल, आसाम डाउन टाउन युनिभर्सिटी, भारतका तर्फबाट कम्प्युटर टेक्नोलोजी सङ्कायका डीन डा. उत्पल वर्मन र युनिभर्सिटी अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड साइन्सेज, बङ्गलादेशको तर्फबाट IQAC Cell का डाइरेक्टर इन्जिनियर मो. साफेत हुसेनले आ-आफ्नो प्रस्तुति दिनुभएको थियो । सुकुना बहुमुखी क्याम्पसका शिक्षक श्री उषाकिरण वाग्लेले सञ्चालन गर्नु भएको उक्त वेबिनारमा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिला विभागका निर्देशक नवराज कोइराला, शिक्षक तथा विद्यार्थीहरू सहित ५० जना, आसाम डाउन टाउन युनिभर्सिटी, भारतका तर्फबाट उक्त विश्व विद्यालयका उपकुलपति प्रा.डा. एन. सि. तालुकदार, विश्वविद्यालयका विशिष्ट प्राध्यापकहरू, अन्तर्राष्ट्रिय मामिला विभागका सहायक निर्देशक सत्यब्रत शर्मा लगायत विद्यार्थीहरू सहित ५० जना र युनिभर्सिटी अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड साइन्सेज, बङ्गलादेशको तर्फबाट उक्त विश्वविद्यालयका उपकुलपति प्रा. डा. अब्बु हसन भुइयाँ, IQAC Cell का डाइरेक्टर इन्जिनियर मो. साफेत हुसेन, प्राध्यापकहरू र विद्यार्थीसहित ५० जना गरी जम्मा १५० जनाको अनलाईन उपस्थितिमा उक्त वेबिनार सम्पन्न गरिएको थियो । एक घण्टा ३० मिनेट अवधिको सो वेबिनार युनिभर्सिटी अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड साइन्सेजका उपकुलपति प्रा. डा. अब्बु हसन भुइयाँको मन्तव्य पश्चात समापन गरिएको थियो ।

क्याम्पसमा मनोक्रान्तिका प्रवर्तकडा. योगी विकासानन्द सँग साक्षात्कार

सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मैरङको सभाकक्षमा मिति २०८० साल चैत्र २७ गते मङ्गलबार विहान मनोक्रान्तिका प्रवर्तक डा. योगी विकासानन्द र सञ्चालक समित‚ सल्लाहकार समिति‚ शिक्षक‚ कर्मचारी र विद्यार्थी प्रतिनिधिहरू सँग तनाव व्यवस्थापन‚ सकारात्मक सोचको विकास‚ असल आचरणको निर्माण‚ सम्मोहन उपचार विधि‚ योग‚ ध्यान‚ दार्शनिक विषयमा साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । डा. योगी विकासानन्दले कार्यक्रममा व्यक्तिको शक्ति मापन गर्दै शक्ति आर्जन गर्ने तरिका र सम्मोहन विधिको प्रयोग समेत गरेका थिए । मानिस किन दुखी हुन्छ र चरम सुख प्राप्त गर्न के कस्ता कार्यहरू गर्नु पर्दछ भन्ने विषयमा आफ्नो अनुभव सुनाउँदै सुखमय जीवनका लागि उत्प्रेरणा समेत दिएका थिए ।

क्याम्पसमा Advanced Research Methodology Course सञ्चालन

सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङ र काठमाडौं विश्वविद्यालय बिच भएको सम्झौताअनुसार शिक्षक तथा कर्मचारीहरूको आर्टिकल लेखन तथा प्रकाशन र खोज अनुसन्धान क्षमता विकास गर्न मिति २०८० फागुन २४ गते विहीबार देखि ३ क्रेडिटको ४८ घण्टे Advanced Research Methodology Course शुरु गरिएको छ । उक्त कोर्स काठमाडौं विश्वविद्यालयले सञ्चालन गर्ने र कोर्स सञ्चालनको लागतको ६६ प्रतिशत क्याम्पसले र ३३ प्रतिशत सम्बन्धित सहभागि शिक्षक एमव् कर्मचारीले बेहोर्ने गरी आर्थिक व्यवस्थापन गरिएको छ । कोर्स सञ्चालनको पहिलो दिन काठमाण्डौं विश्वविद्यालयका सहजकर्ता विज्ञ द्वय डा. हेमराज काफ्ले र डा. प्रकाशचन्द्र भट्टराईले कोर्सको प्रकृति र महत्व उल्लेख गर्दै ४८ घण्टाको अवधिमा सहभागीहरूले आर्टिकल लेखन‚ प्रकाशन र अनुसन्धान गर्न सक्षम हुने बताएका छन् । उक्त कोर्स लिनका लागि क्याम्पसका २८ जना शिक्षक तथा कर्मचारीहरूले भर्ना लिएका छन् । उक्त कोर्स सञ्चालन भौतिक रुपले उपस्थित भएर र अनलाइन माध्यबाट हुने भएकाले सो समयमा कोर्स लिने सहभागीहरूले पालना गर्नु पर्ने नियम‚ तालिमको गुणस्तर‚ औचित्य र यसबाट क्याम्पस तथा सहभागीको प्राज्ञिक विकासमा कोर्सले पुर्याउने सहयोगको विषयमा अनुसन्धान व्यवस्थापन एकाइले तयार गरेको आचार संहिता समेत प्रस्तुत गरिएको छ ।

क्याम्पसमा विदेशी गेष्ट लेक्चररबाट कक्षा सहजीकरण कार्यक्रम सम्पन्न

सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङमा मिति २०८० फागुन ३० गते देखि
चैत्र ५ गतेसम्म सात दिनका लागि आसाम डाउन टाउन युनिभर्सिटि‚ गुवाहाटी‚
भारतका सहप्राध्यापक डा. विशाल भुईँयानले सहजीकरण कार्य सम्पन्न गरेका छन्
। यस अवधिमा भुईँयानले एमबिएस‚ बिबिएस र बिबिएका सबै कक्षाहरू विद्यार्थी
तथा शिक्षकहरूलाई शिक्षण सिकाइ‚ शैक्षणिक विधि‚ शिक्षणमा प्रविधिको प्रयोग‚ मूल्याङ्कनका नविनतम विधिहरू‚ ज्ञानको विश्वबजारीकरणका उपाय‚ पठन तथा लेखन एवम् प्रकाशन संस्कृतिका विषयमा विश्वविद्यालयका अनुभव र प्रयोगका विषयमा सहजीकरण गरेका छन् । सहजीकरणका क्रममा क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइ र आसाम डाउन टाउन युनिभर्सिटिले मिलेर गर्न सकिने अनुसन्धान तथा प्रकाशनका क्षेत्रहरूका विषयमा गहनतम छलफल गरिएको र यसबाट क्याम्पसले अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठनाहरू सँग पहुँच विस्तार गरी विद्यार्थीहरूलाई ती अनुसन्धानमा जोड्न सकिने विषयमा सहजीकरण गरेका छन् । चैत्र ५ गते विहान क्यापस सञ्चालक समिति‚ लेखा तथा पुनरावेदन समिति‚ सहायक क्याम्पस प्रमुखहरू र विभागीय प्रमुखहरूको उपस्थितिमा क्याम्पसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिला विभागद्वारा आयोजना गरिएको विदाइ कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले विदेशी विश्वविद्यालयका विज्ञ डा. भुईँयानलाई माला‚ खादा‚ नेपाली टोपि लगाएर कदर तथा प्रशंसापत्र र मायाको चिनोसहित विदाइ गरिएको थियो । विदाइ ग्रण गर्दै डा. भुईँयानले क्याम्पसको भौतिक‚ प्राज्ञिक र सामुहिक क्रियाकलाप हेर्दा सुकुना क्याम्पस कुनै विश्वविद्यालयभन्दा कम नरहेकोमा सन्तोष व्यक्त गर्दै छिटै अर्को टोलि लिएर आउने प्रतिवद्धता जाहेर गरेका छन् ।