आज मिति २०८३ वैशाख १६ गते मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसको प्राङ्गणमा एक बृहत् निःशुल्क स्वास्थ्य शिविर भव्यताका साथ सम्पन्न भएको छ। क्याम्पस प्रशासन र स्थानीय स्वास्थ्य संस्थाहरूको संयुक्त आयोजनामा सञ्चालित यस शिविरमा विद्यार्थी, प्राध्यापक, कर्मचारीका साथै स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा जनरल चेकअप, स्त्री रोग, हाडजोर्नी तथा नशा सम्बन्धी स्वास्थ्य परीक्षण गरिनुका साथै सहभागीहरूलाई निःशुल्क रूपमा सुगर र रक्तचाप जाँचको सुविधा समेत प्रदान गरिएको थियो। स्वास्थ्य परीक्षणपश्चात् बिरामीहरूलाई आवश्यकता अनुसार निःशुल्क औषधि वितरण गरिएको यस कार्यक्रमले आर्थिक रूपमा विपन्न र स्वास्थ्य पहुँच बाहिर रहेका स्थानीय समुदायलाई प्रत्यक्ष राहत पुर्याएको छ। क्याम्पस प्रमुखले शैक्षिक गतिविधिका साथै विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। करिब ५०० भन्दा बढी व्यक्तिले लाभ लिएको यस एकदिने शिविरले क्याम्पस र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै स्वास्थ्य सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।