सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसले वार्षिक खेलकुद कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने २३० जना विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।अतिरिक्त क्रियाकलाप उपसमिति सुकुना बहुमुखी क्याम्पसकाे आयाेजनामा कार्यक्रम गरिएको हाे । देशकै उत्कृष्ट क्यूएए (QAA) मान्यता प्राप्त क्याम्पसका रूपमा परिचित क्याम्पसले विभिन्न खेल विधामा विजयी विद्यार्थी तथा टिमलाई नगदसहित सम्मान गरेको हो । क्याम्पस प्रमुख अर्जुराज अधिकारीका अनुसार २०८२ माघ १६ गतेदेखि सञ्चालन गरिएको वार्षिक खेलकुद कार्यक्रममा सहभागी भई उत्कृष्टता हासिल गर्ने २३० जना विद्यार्थीलाई प्रमाणपत्र र मेडल तथा नगद पुरस्कार प्रदान गरिएको हो ।कार्यक्रम अन्तर्गत फुटबल, क्रिकेट, बास्केटबल, फुटसल, सटपुट तथा छात्र–छात्रा भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । साथै पाँच विधामा दौड प्रतियोगिता समेत सम्पन्न गरिएको थियो । विभिन्न खेलमा विजयी टिम तथा खेलाडीलाई नगदसहित कुल १ लाख १ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको क्याम्पसले जनाएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष सुरेन्द्रबहादुर थापाले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापसँग जोड्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले खेलकुदमार्फत विद्यार्थीले क्याम्पस मात्र नभई देशकै उत्कृष्ट खेलाडी बन्न सक्ने उल्लेख गर्दै आगामी दिनमा यस्ता प्रतियोगितालाई अझ व्यवस्थित र परिस्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।यस्तै स्वतन्त्र विद्यार्थी युनियनका सभापति एलिस ओझाले विद्यार्थीलाई प्रदान गरिने सेवा सुविधालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक जनार्दन गुरागाईंको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।