मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसले उच्च शिक्षा, प्रशासनिक क्षमता विकास तथा शैक्षिक–औद्योगिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित दुई महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने भएको छ । देशकै अब्बल शैक्षिक सस्थाकाे रुपमा रहेकाे याे क्याम्पसले गत वर्ष समेत अन्तराष्ट्रिय शैक्षिक सम्मेल सम्पन्न गरेकाे थियाे । क्याम्पसका अनुसार जेठ १७ र १८ गते “एकेडेमिया–इन्डस्ट्री डाइलग : Developing a Resilient Workforce” कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा विश्वविद्यालय, उद्योग, बैंकिङ, उद्यमशीलता तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहने जनाइएको छ । कार्यक्रममार्फत उच्च शिक्षालय र उद्योग क्षेत्रबीच सहकार्य विस्तार, रोजगारमुखी शिक्षा, उद्यमशीलता विकास तथा दक्ष जनशक्ति उत्पादनका विषयमा व्यापक छलफल गरिनेछ । कार्यक्रममा मधेश विश्वविद्यालयका डिन डा. अन्जय कुमार मिश्र, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजु थपलिया, किस्स कलेजका अध्यक्ष नरोत्तम अर्याल तथा सहकारी विकास बैंकका सीईओ बद्रीकुमार गुरागाईंलगायतले सहजीकरण गर्ने जनाइएको छ । याे कार्यक्रममा शिक्षक, विद्यार्थी ,स्थानीय उद्याेगी ,छिमेकी क्याम्पसका व्यक्ति लगायतकाे सहभागिता रहने छ । यसैगरी, क्याम्पसले प्रशासनिक कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि “Skill Development Training for Campus Administrative Staff” शीर्षकको तीनदिने तालिम पनि सञ्चालन गर्ने भएको छ । तालिम जेठ १७ देखि १९ गतेसम्म क्याम्पस हल नं. ३ मा आयोजना हुनेछ । तालिममा गुणस्तर सुनिश्चितता (QAA) प्रक्रिया, अभिलेखीकरण, डिजिटल सीप विकास, सार्वजनिक खरिद प्रक्रिया, समस्या समाधान सीप, कार्यस्थलमा आवश्यक सफ्ट स्किल तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा प्रशिक्षण दिइने क्याम्पस प्रशासनले जनाएको छ ।